नेपालको मध्यभागमाअवस्थित प्रसिद्ध धार्मिक स्थल ईशानेश्वर माहादेवको काखमा रहेको यस मध्यनेपाल नगरपालिका लम्जुङ्गको १० ओटा गा. बि. स.( जिता, तान्द्रङ टक्सार, सुर्यपाल, रम्घा, समिभञ्यङ, भोर्लेटार, इशानेश्वर, करापू, बाङ्ग्रे र नेटा) लाई समेटेर २०७३ सालमा यस मध्यनेपाल नगरपालिकाको नामाकरण गरि घोषणा गरिएको हो। काठमाडौबाट १८० कि.मी पश्चिम तथा पोखराबाट ३२ कि.मी पूर्वमा अवस्थित यस मध्यनेपाल नगरपालिका गण्डकी प्रदेश अन्तर्गत लम्जुङ्ग जिल्लाको एक व्यापारीक केन्द्र भोर्लेटारमा पर्दछ। यो नगरपालिकालाई पूर्वमा सुन्दरबजार नगरपालिका, पश्चिममा कास्की जिल्ला र दक्षिणमा ब्यास नगरपालिकाले घेरिएको छ।
११३.८६ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको २०६८ सालको जनगणना अनुसार १२,९१४ महिला र १०,४६९ पुरुष गरि जम्मा २३,३८३ जनसंख्या रहेको छ। शिक्षाको क्षेत्रमा हाम्रो यस नगर धरै अघाडी रहेको र करिब ९० प्रतिशत जनसंख्य साक्षर रहेकाछन्।
यस नगरपालिकामा मुख्य जातिको रुपमा गुरुङ्ग, ब्राह्मण, क्षेत्री, नेवार, मगर, दुरा, कामी आदि रहेका छन् भने नेपाली लोक संगीतमा दुर्लभ मानिने ठाडोभाका लोक गीतको जन्मथलो मानिने यस क्षेत्रमा बिभिन्न जातिय तथा परम्परागत नृत्यहरु पनि छन्। जसमा घाटु, चुड्का, कौरा र परम्परागत तिजका गित तथा नृत्यहरु यस नगरपालिकाका सर्वाधिक लोकप्रिय संकृतिहरु हुन्।
नगरवासिहरु आंसिक रुपमा जागिरे, व्यापार र वैदेशिक रोजगारिमा संलग्न भयतापनि कृषि नै मुख्य आर्थिक स्रोत रहेको छ। खहरे, गोल्यङदि, रिस्ति, चर्दि, मिदिम, पिस्ति जस्ता खोलाका काखमा रहेका फाटहरु उर्भर र सदाबाहार छन्।
हरेक बर्ष हिन्दुहरुको महान पर्व शिवरात्रिको अवशर पारेर हजारौँ श्रदालु भक्तजनहरु हाम्रो यस नगरको काखमा रहेको प्रसिद्ध धार्मिक स्थल इशानेश्वर महादेव मन्दिरको दर्शन गर्नका निम्ति आउने गर्दछन्। यसै गरी नाग भैरवको मन्दिर, मालिका मन्दिर ,जल्पादेवी मन्दिर, जिता भयर थान मन्दिर आदि धार्मिक स्थलले आफनो छुटै अस्तित्व बोकेका छन् ।